२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत


बिर्तामोड, असोज ३ । बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर नगरक्षेत्रका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाले २०८० सालको आधारभूत तहमा उत्कृष्ट जिपिए ल्याउने दीप्ति सुवेदी मोहनमाया मावि, विनिशा अग्रवाल र चिरायु न्यौपाने वाल्मीकि एजुकेसन फाउन्डेसनलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

त्यस्तै, बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण पनि गरेको छ ।

’स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मोहनमाया माविकी एलिना तिम्सिना प्रथम, न्युटन्स एजुकेसन एकेडेमीकी रोसिना दाहाल द्वितीय, एभरेस्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका प्रयास गिरी र महेन्द्ररत्न माविकी स्मृति आचार्य सान्त्वना भएका थिए ।

त्यस्तै, भदौ ३० गते आयोजना गरिएको कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।

कक्षा १ देखि ५ कक्षासम्मको प्रतियोगितामा दक्षा काफ्ले न्युटन्स प्रथम, फोक्नाम लिम्बू कञ्चन इंग्लिस स्कुल द्वितीय, श्रुतिका पोखरेल चिल्ड्रेन स्कुल तृतीय, अदीति बराल अनारमनी लिबर्टी र पञ्चु हेमरम जनता प्रावि सान्त्वना भएका छन् ।

कक्षा ६ देखि ८ सम्मको प्रतियोगितामा चेञ्जल राजवंशी न्युटन्स प्रथम, भव्या लोहारीवाला सेन्ट जेभियर्स द्वितीय, सिरोन शिवाकोटी ग्रिन फिल्ड तृतीय र विनिता मुर्मू चिल्ड्रेन सान्त्वना भएका छन् ।

उनीहरुलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीलगायतले विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।

सोही कार्यक्रमका बीच सेवानिवृत्त नौजना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer