
बिर्तामोड, असोज २५ । हिजो राति झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।


हिजो राति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु भएको हो ।


दिउँसो ३ः.५५ बजे मे. ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक भद्रपुर–८ का २५ वर्षीय सञ्जीव गिरीको पनि मृत्यु भएको हो ।


उनको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले बताए ।

मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्डको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा राति ९ः५० बजे चारआलीबाट चन्द्रगढीतर्फ जाँँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे. ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।


दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर–१० केन्द्रमोड का २३ वर्षीय आलोक भण्डारीको मृत्यु भएको थियो ।

त्यस्तै, सोही मोटरसाइकलको पछाडि बसेका भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय गिरी घाइते भएका थिए ।


राउत र गिरीको बिएन्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । घाइते राउत डिस्चार्ज भई घरतर्फ गएको चन्दले जानकारी दिए । दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ ।