बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोड शनिश्चरे रोडदेखि अतिथि सदन जाने सडकको स्तरोन्नति कार्यको ठेक्का अवधि सकिएको छ ।
भदौ १७ गते स्तरोन्नति कार्य सुरु भएर असोज ३० गतेसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनी र नगरपालिकाले चासो नदिँदा सडक पुरानै अवस्थामा पुगेको छ ।
बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको थियो ।
सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधि असोज ३० गतेसम्म थियो ।
सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुने भनिएको थियो ।
अतिथि सदन अदुवा खोला पुलसम्मको ३३० मिटरसँगै वानस्टप मलदेखि अतिथि सदन रोडसम्म २१० मिटर र शनिश्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १३९ मिटर सडक पनि स्तरोन्नति (कालोपत्रे) गरिने बिर्तामोड नगरपालिकाले जनाएको छ ।
६७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ ।