बिर्तामोड, कात्तिक १९ । झापाको अर्जुनधारामा अचानक बेहोश भएर लड्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमक-३ ढुकुरपानी घर भई हाल अर्जुनधारा–११ सितीपानीमा डेरा गरी बस्दै आएका ५३ वर्षीय गणेशबहादुर दर्जीको कात्तिक १७ गते बिहान ११ बजे मृत्यु भएको हो ।
अर्जुनधारा–६को बालविकास चोकमा लडेर उनको मृत्यु भएको हो । उनी अचानक बेहोश भएर लडेको र त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए ।
मादक पदार्थ सेवन गर्ने गरेका दर्जी बिरामी रहेका थिए । उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी छोरालाई जिम्मा दिइएको विष्टले जानकारी दिएका छन् ।