बिर्तामोड, कात्तिक २० । झापाको झापा गाउँपालिका वडा नम्बर २ मा रहेको काली मन्दिरभित्र स्थानीय एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
झापा बजारउत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जंगबहादुर राजवंशी मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
चिया बगानमा काम गर्ने चौकीदार विनोद मण्डलले बिहान पूजा गर्न काली मन्दिरमा आउँदा राजवंशीलाई मृत भेटिएका थिए । उनैले इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएका थिए ।
झापा २ का वडा अध्यक्ष हिमालकुमार चम्लागाईंले मृत भेटिएका राजवंशीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । राजवंशी गाउँघरमा मागेर आफ्नो गुजारा गर्दै आएका थिए ।
वडा अध्यक्ष चम्लागाईंका अनुसार मृतकको झापा गाउँपालिका वडा नम्बर २ बालुवाटारमा १ कठ्ठा जग्गा रहेको छ ।
स्थायी ठेगाना बाह्रदशी गाउँपालिका वडा नम्बर २ रहेका राजवंशीको श्रीमती, तीनजना छोरा र दुईजना छोरी रहेको आफन्तले जानकारी दिएका छन् ।