२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा रगत अभाव, एक दिनलाई मात्र पुग्ने रगत मौज्दात


बिर्तामोड, कात्तिक ३० । अस्पतालमा बिरामीको चाप बढेसँगै झापा जिल्लामा रगतको अभाव हुन थालेको छ । बिरामीको चाप बढेसँगै रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र बिर्तामोड, बिएन्डसी र भद्रपुरमा गरी ६६ युनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए ।

उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ ।

उनले साउन, भदौ र असोजमा चार हजार २८५ युनिट रगत खपत भएको जानकारी दिए । “चाडपर्वका कारण कुनै संघसंस्थाले रक्तदान कार्यक्रम गर्न सकेका छैनन्”, उनले भने, “अब रक्तसञ्चार केन्द्रमा एक दिनलाई मात्र पुग्ने रगत छ ।”

उनले विगतमा जस्तो रक्तदान गर्ने युवासमेत घटेको बताए । धेरै युवा वैदेशिक रोजगार र अध्ययनका क्रममा विदेशिँदा रगत सङ्कलनमा कमि हुन थालेको उनको विश्लेषण छ ।

जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार ५७६ युनिट रगत बिरामीलाई उपलब्ध गराइएको थियो । सो अवधिमा तीन हजार युनिट सेतो रगतसमेत खपत भएको छ ।

एक वर्षमा १३७ वटा रक्तदान कार्यक्रममार्फत पाँच हजार ५८ स्वयमसेवी रक्तदाताले रगत दान गरेका थिए । सो अवधिमा आठ हजार ५२ रक्तदाताले बिर्तामोडको पञ्चकन्या, बिएन्डसी र भद्रपुर रक्तसञ्चार केन्द्रमा आएर रगत सो रगत दान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer