२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नकलबन्दा चिया बगानले हडपेको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा


मेचीनगर, मंसिर ७ । झापाको मेचीनगर ५ मा रहेको नकलबन्दा टि इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काइएको छ ।

चिया बगानले हडपेको ३३ वर्षपछि र नेपाल सरकारको लगत कायम भएको १५ वर्षपछि मेचीनगर नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाएको हो ।

नगरप्रमुख गोपाल बुढाथोकीले नेपाल सरकारको नाममा कायम भइसकेको जग्गा चिया बगानले बिनासित्ती भोगचलन गरिरहेको हुँदा अबोप्रान्त नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने सन्देश सार्वजनिक गर्न साइनबोर्ड राखिएको बताए ।

मेचीनगर नगरपालिकाले सो सरकारी जग्गाको क्षेत्रफल अंकित साइनबोर्ड राखेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले जनाएअनुसार हाल चिया बगान रहेको उक्त जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए ।

ऐलानी पर्ती रहेको जग्गालाई कानुले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टि इस्टेटलाई २०५५ असोज ११ गते बिक्री गरेका थिए ।

सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मंसिर २२ गते नकलबन्दा टि इस्टेटको नाममा रहेको जग्गा बदर गरी नेपाल सरकारको कायम गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकारको स्वामित्व कायम गर्ने अख्तियारको निर्णय आइसकेपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले २०६६ पुस ६ गते सरकारी रेकर्डबाट नकलबन्दाको लगत कट्टा गरी नेपाल सरकारको नाम समावेश गरेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

नगरपालिकाको संरक्षणमा आएको जग्गामा हराभरा चियाका बोट र ठुला रुखहरु छन् । लगाइएको बाली उठाएर जग्गा खाली गरिदिन मेचीनगर नगरपालिकाले नकलबन्दा टि इस्टेटलाई दुईपटक पत्राचार गरिसकेको जनाएको छ ।

नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाए तापनि अहिलेसम्म जग्गाको सीमाना यकिन भइसकेको छैन । साविक नकलबन्दा गाउँ पञ्चायतको वडा नम्बर ७ का कित्ता नम्बरहरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१ र २३२ को जग्गा नकलबन्दा टि इस्टेटबाट सरकारको नाममा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer