
बिर्तामोड, मंसिर २० । झापा बिर्तामोडको सीमामा पर्ने अर्जुनधारा-६ को सद्गुरु श्री देवचन्द्र सदनमा करिब १० करोड रुपैयाँको लागतमा कृष्ण प्रणामी स्वर्ण मन्दिर निर्माण हुने भएको छ ।


सद्गुरु सदनका सचिव पुष्प आचार्यका अनुसार मन्दिर नेपालकै नमुना हुनेछ । अत्याधुनिक, आकर्षक, मनमोहक, इतिहास झल्कने विभिन्न मूर्तिजडित स्वर्ण मन्दिरको गजुर मात्र ६० फिट अग्लो हुने सचिव आर्चायले बताए ।


प्रशस्त पाकिङ, कम्पाउन्ड, गार्डेन, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, कृष्णजीका लीला, झाँकीहरुको मूर्ति, कालीनागमाथि कृष्णजी नाचेको मूर्तिलगायत मन्दिरमा निर्माण गरिने मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाईंले जानकारी दिए ।


११ कठ्ठा जग्गामा बन्न लागेको स्वर्ण मन्दिरको पहिलो चरणको निर्माण तीन वर्षभित्र सक्ने लक्ष्य लिइएको छ ।

सदगुरु सदनको बृहत्तर परियोजनाअन्तरर्गत सामुदायिक भवन पनि अहिले निर्माणाधीन अवस्थामा छ ।


सामाजिक कार्य, विवाह, सभा, सम्मेलनका लागि निर्माणधीन भवनको हालसम्म ७५ प्रतिशत काम सकिएको सदनको सौन्दर्यकरणका संयोजक तथा निर्माण समितिका उपाध्यक्ष गणेश प्याकुरेलले जानकारी दिए ।

निर्माणाधिन यी परियोजना सम्पन्न भइसक्दा यसले झापाको मात्र नभई देशकै गौरव बढाउने बताइएको छ । चार तलाको भवनमा तीन हजार मानिसले एकैपटक उपभोग गर्न सक्नेछन् ।


बुधबार एक कार्यक्रमबीच अनन्त श्री विभूषित जगतगुरु १०८ कृष्ण मणिजी महाराजश्रीले मन्दिरको शिलन्यास गरेका छन् ।
मन्दिर शिलन्यास कार्यक्रममा एकै दिन सवा करोड रुपैयाँभन्दा बढी रकम सहयोगको प्रतिबद्धता आएको सद्गुरु सदनका सचिव आर्चायले जानकारी दिए ।
