२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

वीरता लेडी जेसिजमा लफडाः चुडाल अदालत जाने तयारीमा


बिर्तामोड, पुस १ । वीरता लेडी जेसिजको निर्वाचनमा अध्यक्ष पदकी प्रत्यासी झुमा चुडालले नवनिर्वाचित पदाधिकारी र निर्वाचन समितिका पदाधिकारीविरुद्ध मुद्दा हाल्ने भएकी छन् ।

निर्वाचन प्रक्रियामा भाग नै नलिएको व्यक्तिका हकमा शून्य मत झरेको भन्ने झुठा व्यहोराको माइन्युट गरी आफ्नो आचरण, ख्याति वा नैतिकतालाई होच्याउने गरी चरित्र हत्या गरेको भन्दै उनी नवनिर्वाचित पदाधिकारी र निर्वाचन समितिका पदाधिकारीविरुद्ध गाली बेइज्जतीसम्बन्धी कसुरमा कानुनी प्रक्रियामा जाने भएकी हुन् ।

आज वीरता लेडी जेसिजको सचिवालयमा पत्रकार सम्मेलन गरी चुडालले मुलुकी फौजदारी संहिता २०७४ को गाली बेइज्जती सम्बन्धी कसुरको दफा ३०६ ले उल्लेख गरेबमोजिम अदालतमा मुद्दा हाल्ने जानकारी दिइन् ।

उनले विधानविपरीत गठन गरिएको वीरता लेडी जेसिजको नयाँ कार्यसमिति खारेजीको मागसमेत गरेकी छन् ।

निर्वाचन प्रक्रिया निष्पक्ष र धाँधलीरहित नभएको भन्दै सदस्य रोजिना पाण्डेले हिजै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइसकेकी छन् ।

मतदाता नामावलीमा आफ्नो नाम नियतवश हटाइएको र त्यस विषयमा कुरा गर्न जाँदा निर्वाचन समितिले आफूलाई गुन्डा भनेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निर्वाचन प्रक्रिया रोक्न उजुरी दिएकी थिइन् ।

तर, निर्वाचन समितिले निर्वाचन प्रक्रिया नरोकी विवादका बीच नयाँ कार्यसमिति चयन गरेको थियो ।

निर्वाचन समितिले वीरता लेडी जेसिजको सन् २०२५को अध्यक्षमा निशा शाक्य निर्वाचित भएको घोषणा गरेको थियो ।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष मेनुका ओली, कार्यकारिणी उपाध्यक्ष मुना अधिकारी ढुंगेल, चन्द्रकला रिजाल, उपाध्यक्ष एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना बस्नेत, तारा बस्नेत रहेका छन् ।

त्यस्तै, सहसचिवमा दिक्षा कडरिया, शाखा सम्पादकमा हेलेन खरेल, तालिम संयोजक कोपिला पोख्रेल सिटौला, जनसम्पर्क अधिकारी पार्वता श्रेष्ठ निर्वाचित भएको बताइएको थियो ।

Adv footer