२०८१ पुष २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

लक्ष्मी बहुउद्देश्यीय सहकारीको मुनाफा एक करोड चार लाख


बिर्तामोड, पुस १४ । झापा बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजीको १२.६ प्रतिशत लाभांश वितरण गरेको छ । यो झापा जिल्लाकै सबैभन्दा बढी लाभांश हो ।

लक्ष्मी बहुउद्देश्यीय सहकारीले गत वर्ष १२.१७ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष बढाएर १२.६० प्रतिशत पुर्‍याएको हो ।

यसरी सबैभन्दा धेरै लाभांश वितरण गरेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बारेमा २८ औँ वार्षिक साधारणसभाका सहभागी वक्ताहरुले प्रशंसा गरेका छन् ।

संस्थाले आर्थिक वर्ष २०८०–०८१ मा १ करोड ४ लाख ५३ हजार ५८४ रुपैयाँ मुनाफा कमाएको छ । त्यसलाई अर्को वर्ष बढाएर १ करोड ९४ लाख ५० हजार रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ ।

त्यस्तै, संस्थाको शेयर पुँजी ३ करोड २२ लाख ६२ हजार २०० रुपैयाँ रहेकोमा त्यसलाई अर्को वर्ष बढाएर ४ करोड पुर्‍याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, कुल निक्षेप ३५ करोड ४८ लाख ९८ हजार ५९४ रुपैयाँ रहेकोमा त्यसलाई बढाएर ४५ करोड पुर्‍याउने लक्ष्य राखिएको सचिव सन्देश मल्लले बताए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु प्रयत्न शाक्य, चरणसिंह राजवंशी, भीमबहादुर लिङ्देन, गोपालकृष्ण अग्रवाल, दाताराम मैनाली, सरोज अधिकारी, सुनिल खरेल, गीतादेवी ढकाल, ऋणीतर्फ सुजता बुढाथोकी, अम्बिका तामाङ, भीम खरेल, टिकप्रसाद मिश्र र मित्रकुमार मगरलाई नगदसहित सम्मान गरिएको थियो ।

सहकारीका उपाध्यक्ष भगिरथ पोद्दारले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा समिति संयोजक रोशन दाहालले गरेका थिए ।

कुल ४ हजार ३६० जना शेयर सदस्य रहेको संस्थाले धितोमा मात्र कर्जा लगानी गर्ने गरेको व्यवस्थापक पुण्यप्रसाद अधिकारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा भएको साधारणसभालाई पूर्वअध्यक्ष चन्द्रकुमार राजभण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका पूर्वसहकारी अधिकृत डिल्ली दाहाल, सहकारीका संस्थापक सचिव एवम पूर्वअध्यक्ष डक्टर रुपक खनाल, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, जिल्ला सहकारी संघका सदस्य तथा स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेत, कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Adv footer