बिर्तामोड, पुस २४ । झापाको चारआलीमा ११ अर्ब रुपैयाँ लागतमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न लागिएको छ । निगमका अनुसार चारआली पेट्रोलियम पाइपलाइन ११ अर्ब १४ करोड ६१ लाख ३६ हजार नेपाली रुपैयाँ लगानी लाग्ने अनुमान छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन (आइओसी) बीच बिजिनेस टु बिजिनेस (बिटुबी एग्रिमेन्ट) सम्झौता भएपछि थप एक अन्तरदेशीय र एक आन्तरिक पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढेको हो । बिटुबी सम्झौता २०८१ असोज १७ गते (२०२४ अक्टुबर ३) नयाँ दिल्लीमा भएको थियो ।
निगमले झापाको मेचीनगर–१३ स्थित चारआलीमा २०८० फागुन ३० गते २३ बिघा ३ कट्ठा १३ धुरजग्गा खरिद गरेको छ । सोही जग्गासम्म निगमले पाइपलाइन ल्याउन लागेको छ ।
साथै, १९ हजार किलोलिटरको इन्धन भण्डारण क्षमता भएको भण्डार गृह निर्माण गर्ने तयारी गरेको छ । अत्याधुनिक अटोमेसन प्रविधि सुविधा भएकोे लोडिङ सेडिङसहितको ग्रिनफिल्ड स्मार्ट टर्मिनलसमेत निर्माण गर्ने भएको छ ।
भण्डारण गृहमा पेट्रोलतर्फ २ हजार २ सय किलोलिटर क्षमताको ३ वटा ट्याङ्की गरी कुल ६ हजार ६ सय किलोलिटर क्षमता र डिजेलतर्फ ४ हजार १ सय किलोलिटर क्षमताको ३ वटा ट्याङ्की गरी कुल १२ हजार ३ सय किलोलिटरको भण्डारण गृह निर्माण गर्ने बिटुबीमा उल्लेख छ ।
यो पाइपलाइनको दूरी भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर रहनेछ । जसमा सिलगुडीको आइओसीको डिपोदेखि नेपालको बोर्डरसम्म ३५ किलोमिटर र बोर्डरबाट चारआलीसम्म १५ किलोमिटर दुरी छ ।
पाइपलाइन ओछ्याउनका लागि २ अर्ब ६७ करोड भारतीय रुपैयाँ र भण्डारण गृहसहित टर्मिनल निर्माण गर्न ४ अर्ब २९ करोड भारतीय रुपैयाँ लगानी हुनेछ । यो लगानी भारत सरकारले बेहोर्ने बिटुबीमा उल्लेख छ ।
निगमले सिलगुडी–झापा (चारआली) पाइपलाइन आयोजनाका लागि आयोजना प्रमुखको जिम्मेवारी इन्जिनियर सुरेन्द्र महतोलाई दिएको छ ।
Comments are closed