
बिर्तामोड, पुस २५ । झापाको अर्जुनधारा–१ मा रहेको शंकराचार्य पीठ साधुटारमा आयोजना हुने सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायागको तयारी पूरा भएको छ ।


अतिरुद्र अभिषेकात्मक महायाग स्थलको उद्घाटन गरिसकिएको छ । महायाग गर्ने स्थलमा पूजापाठपछि सुनको फाली भएको हलोसहित गोरुले तीन फन्का जोतेर महायाग स्थलको शुभराम्भ गरिएको थियो ।


महायागका लागि आवश्यक तयारीसँगै संचरना निर्माणको काम सकिएको हो । अतिरुद्र अभिषेकात्मक महायाग स्थल, पन्डाल, स्वागतद्वार, पीठ परिसरमा आवश्यक रंगरोगनसहितका पूर्वाधार निर्माणको काम पूरा भएको छ ।


शंकराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाका अनुसार माघ १ गतेदेखि ११ गतेसम्म महायाग हुने र त्यसको तयारी पूरा भएको छ । उनले महायाग सम्पन्न गर्न दुई करोड रुपैयाँ खर्च हुने बताए । सबै भक्तजनको सहयोगबाट महायाग सम्पन्न हुने उनका भनाइ छ ।
विश्वशान्तिको कामनासहित महायाग पुस २९ गते पूर्णिमाका दिन साधुटारबाट कनकाई माई पुगेर जल लिएर कलशयात्रा गर्ने योजना रहेको छ । १५१ जना उपाध्याय ब्रह्मण पण्डितले महायागमा वरण गर्ने जनाइएको छ ।


अध्यक्ष खतिवडाका अनुसार अभिषेकात्मक अतिरुद्र महायाग भनेको एकपटक रुद्री पढेर गर्नुलाई रुद्र, ११ पटक रुद्री पढेर अभिषेक गर्नुलाई रुद्री, १२१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई लघुरुद्री, १,३३१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई महारुद्री र १४,६४१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई अतिरुद्री भनिन्छ ।

महायागबाट रहेको यज्ञाशेष गुरुकुलको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोडको अक्षयकोष स्थापना महाअभियानमा सुरक्षितसमेत गरिने अध्यक्ष खतिवडाले बताए ।


महायागमा अभिषेक, पाठ, हवन बिहान ८ बजेबाट सुरु भएर १२ बजेसम्म हुनेछ भने १ बजेबाट प्रवचन हुने बताइएको छ । श्री शङ्कराचार्य पीठमा श्री वेद वेदाङ्ग संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको छ ।
२०३३ सालमा स्थानीय केदारनाथ खतिवडाको अगुवाईमा सामाजिक सद्भाव र प्रेरणाबाट आर्ष गुरुकुलीय आचारसंहिता अनुरुप सञ्चालन हुने गरी संस्कृत पाठशालाको प्राराम्भ भएको थियो ।