२०८१ माघ २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीको अदुवा प्रशोधन केन्द्र बन्द हुँदा डुब्यो लगानी


मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी खेर गएको छ ।

अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवर्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा प्रशोधन केन्द्र भारतीय सिन्डिकेटका कारण बन्द भएको व्यवसायीले बताएका छन् ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालनमा आएको अदुवा प्रशोधन केन्द्र (परियोजना) का लागि विश्व व्यापार संगठनले ११ लाख ७३ हजार ६९४ डलर खर्च गरेको थियो ।

भारतीय व्यापारीको सिन्डिकेटको कारण प्रशोधन केन्द्र नचलेको उद्योगी नरेन्द्र खड्काले जानकारी दिए । कुनै बेला सो उद्योग खड्काले सञ्चालन गरेका थिए ।

भारतको क्वारेन्टाइनले माटो भएको अदुवा जान नदिनु, कलकत्तामा ल्याब टेस्ट गरेर मात्रै लैजान दिन थाल्नु नै प्रशोधन केन्द्र बन्द हुनुको मुख्य कारण रहेको खड्काले बताए ।

सरकारकै असहयोगको कारण प्रशोधन उद्योग नचलेको खड्का दाबी गर्छन् । अझै पनि उक्त उद्योग सञ्चालनका लागि सरकारी निकायहरूसँग सहयोगको माग गरिरहेको उनले बताए ।

झापाका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्बी बनाउने अवधारणाअनुसार केन्द्र बनेको थियो । परियोजनाअन्तर्गत किसानले उन्नत जातको बीउबिजन प्रयोग गरी अत्याधुनिक प्रविधिबाट अदुवा उत्पादन गर्ने लक्ष्य लिइएको थियो ।

झापाको साविक खुदुनाबारी, डाँगीबारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी, मेचीनगर र पृथ्वीनगरमा कपुरकोटे, वोसे, जिरे, मकवानपुरे र स्थानीय जातको अदुवाखेती हुने गरेको थियो ।

Comments are closed

Adv footer