![](https://jhapatoday.com/wp-content/uploads/2025/02/gayatrimata24.jpg)
बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडस्थित अग्रसेन भवननजिकै निर्माण गरिएको गायत्री माता मन्दिर साझा धार्मिक संस्थाको रुपमा स्थापित भएको छ ।
सबै भक्तालुहरुको गायत्री माता मन्दिर अब कुनै निश्चित समुदायको सीमाभित्र मात्र नरहेको हालै सम्पन्न पाँच दिवसीय अनुष्ठानले पुष्टि गरेको छ ।
कतिपय धार्मिक संस्थाहरु निश्चित समुदायको मात्रै भन्ने गरिएको अवस्थामा गायत्री माता मन्दिरले साझा मन्दिरको अपनत्व ग्रहण गरिसकेको प्रतिक्रियाहरु आएका छन् ।
गायत्री माता मन्दिरका अगुवा रोनक वंशलले कार्यक्रमको सुरुवातदेखि अन्तिमसम्म सबै जातजाति, समुदायको आतिथ्यताले गौरव महसुस गराएको बताए । मारवाडीले अगुवाई गरेपछि मारवाडीको मात्र सम्झिने परिस्थितिको अन्त्य भएको उनको भनाइ छ ।
अग्रसेन, बालाजी मन्दिरलाई यस क्षेत्रमा मारवाडी समुदायको मात्रै हो भन्ने बुझाई स्थापित भएको छ । गायत्री मन्दिर साझा रुपमा स्थापित भइसकेको छ । बालाजी मन्दिर मारवाडी समुदायको मात्रै हो भन्ने बुझाई गायत्री मन्दिरमा लागु नभएको कार्यक्रमले सन्देश दिएको छ ।
कोशी प्रदेश सरकार, बिर्तामोड नगरपालिका र भक्तजनहरुको समेत लगानीमा निर्माण गरिएको मन्दिरमा पाँच दिनसम्म अनुष्ठान चलेको थियो । सभामुख देवराज घिमिरेले शोभा यात्रा गरेका थिए भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले माताको प्राण प्रतिष्ठा गरेका थिए ।
२ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण सुरु गरिएको थियो । बिर्तामोड नगरपालिकामै पहिलोपटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा सम्पन्न भएको हो ।
मन्दिरमा माघ १७ गते प्रतिनिधिसभाका सभामुख घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गरेका थिए भने २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन भएको थियो ।
पाँच दिन सञ्चालन भएको अनुष्ठानमा दैनिक १५ सय भक्तजनले भजन कीर्तनमा सहभागी हुँदै महाप्रसाद ग्रहण गरेका थिए ।
गायत्री माता मन्दिरमा दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको थियो ।
हरेक दिन मन्दिरमा सबै समुदायको उपस्थिति रहेपछि मन्दिर साझा धरोहरका रुपमा स्थापित भएको कार्यक्रम संयोजक समेत रहेका वंशलले जानकारी दिएका छन् ।
Comments are closed