
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ढल निर्माणका कारण खानेपानीको पाइपमा पुगेको क्षति सम्बन्धित निकायले बनाउनुपर्ने बताएको छ ।

संस्थाका अध्यक्ष मेघराज बाँस्तोला र सचिव पारसमणि मैनालीले सूचना निकालेर सूचनाबिनै जथाभावी रुपमा हुने गरेका जग्गा प्लटिङ, बाटो, ढल लगायतका निर्माण कार्यहरु गर्दा संस्थाद्वारा विस्तार गरिएका खानेपानीका पाइपलाइनमा अत्यधिक क्षति पुग्दै आइरहेको जनाएको छ ।
खानेपानी संस्थालाई सूचना नदिई निर्माण हुँदा खानेपानीको आपूर्ति बन्द हुने, धमिलो र फोहोर पानी पाइपमा पसेर उपभोक्ताको धारामा दुषित पानी पुग्ने गरेको अध्यक्ष बाँस्तोलालले जानकारी दिए ।
खानेपानी पाइपलाइन भएका स्थानमा बाटो, ढल, जग्गा प्लटिङ जस्ता आयोजना सञ्चालन गर्दा संस्थालाई पूर्वजानकारी गराउन अनुरोध गरिएको छ ।
यसैबीच, त्यस्ता आयोजना सञ्चालन गर्दा खानेपानी पाइपलाइनमा क्षति पुगेमा सम्बन्धित आयोजना सञ्चालकले क्षति व्यहोर्नुपर्ने बिर्तामोड खानेपानीले जनाएको छ ।
त्यस्तै, कहीँकतै पाइप फुटेको, खानेपानी धमिलो र दूषित आएको तथा पानी आपूर्ति बन्द भएमा तत्काल संस्थालाई जानकारी गराउन खानेपानीले अनुरोध गरेको छ ।