
बिर्तामोड, फागुन १५ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले प्रथम हिसान कोशी फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
हिसान सुनसरीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आदर्शले बिर्तामोडकै निदि सेकेन्डरी स्कुललाई ४–० गोलले हरायो ।
इटहरी रंगशालामा आदर्शका लागि रायन भट्टराईले ह्याट्रिक गरे । नितेश साँवा लिम्बूले एक गोल थपे । रायन प्लेयर अफ द म्याच भए ।
आदर्शका प्रशान्त दुलाल उत्कृष्ट गोलकिपर, क्षितिज अधिकारी उत्कृष्ट डिफेन्डर, समिर हेमरम उत्कृष्ट फरवार्ड घोषित भए ।
निदि सेकेन्डरीका दिवस बाँस्तोला सर्वोत्कृष्ट खेलाडी भए । विवश मगर उत्कृष्ट मिडफिल्डर भए । प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका ६ शिक्षालय सहभागी थिए ।
जिल्ला फुटबल संघ सुनसरीको संयोजनमा सम्पन्न प्रतिस्पर्धाका विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदेश अध्यक्ष ज्ञानकुमार खड्कालगायतले पुरस्कृत गरे ।