
बिर्तामोड, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वकानुनमन्त्रीसमेत रहेका झापा बिर्तामोडका खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो ।
एमाले स्थायी कमिटी सदस्यसमेत रहेका खरेल यसअगाडि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । खरेल २०६४ र २०७० मा संविधानसभा सदस्यसमेत थिए ।
गौरादह–३, झापा स्थायी घर भएका वरिष्ठ अधिवक्ता खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहँदै बार एसोसिएसनको महासचिव समेत बनिसकेका छन् ।
२०४७ सालको संविधान निर्माणमा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको कानुनी सहयोगीका रुपमा काम गरेका खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य पनि थिए ।