
बितामोड, फागुन २७ । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर बिल्डिङ प्रालि (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ बिघा क्षेत्रफलमा काम थालेको छ ।
स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले घर निर्माणको काम थालेको हो । बिर्तामोडमा २४ महिनाभित्र ७७ वटा घर निर्माण पूरा गर्ने योजनासहित काम सुरु गरेको वास्तु विहारले सुविधा सम्पन्न बंलो बनाउने जनाएको छ ।
२ बिएचके देखि ७ बिएचकेसम्मको घर बनाउने योजना बनाएको वास्तु विहारले सामुदायिक हल, सपिङ सेन्टर, पार्क, मठमन्दिर, स्विमिङ पुलको सुविधा हुने जनाइएको छ ।
कम्पनीका अनुसार वास्तु विहारले आकर्षक घर निर्माण गरेर हस्तान्तरण गर्नेछ । घर बनाउने सम्झौता गरेपछि सोहीअनुसारको घर निर्माण गरेर हस्तान्तरण गर्ने वास्तु विहारले जनाएको छ ।

घर बनाउन चाहने तर जग्गा र पैसाको व्यवस्थापन नभएको परिवारलाई उक्त परियोजनामार्फत घर निर्माण गर्न सहज हुनेछ । सम्झौताअनुसार रकम बुझाउँदै जान सकिने व्यवस्था वास्तु विहारले मिलाएको छ ।
एकजना जग्गाधनी जगन्नाथ खनालले किस्ताबन्दीमा घर बनाउन सकिने बताए । वास्तु विहारले व्यवस्थित आवासीय क्षेत्रको रुपमा जग्गा व्यवस्थित गरेको छ, उनले भने, सडक, बिजुलीसमेतको व्यवस्था मिलाएर कोलोनीको मोडलमा घरहरु बनाइनेछन् । कोलोनी मोडल भएपछि सबै पूर्वाधार र सुरक्षा व्यवस्था मजबुद हुनेछ ।

नेपाल सरकार उद्योग विभाग (विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा) बाट २०८० साल ४ महिना २२ गते टेक्नोकल्चर बिल्डिङ प्रालिले नेपालमा घर निर्माणको काम गर्न स्वीकृति पाएको छ ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रक्रिया बमोजिम स्वीकृत प्राप्त गरेको टेक्नोकल्चर (वास्तु विहार) ले सन् २००२ देखि भारतमा काम गरिरहेको छ ।
वीरगञ्जमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको वास्तु विहारले बिर्तामोडमा शाखा स्थापना गरेर घर निर्माणको काम गरिरहेको छ ।
नागरिकहरुलाई घर बनाउन सहुलियत मूल्य र सजिलो प्रक्रिया प्रदान गर्ने वास्तु विहारले बिर्तामोड नगरपालिकामा २०८१ साउन १७ गते व्यवसाय दर्ता गरेर काम थालेको हो । कम्पनीले सम्झौताबमोजिमको रकम भुक्तानी गरेपछि घर हस्तान्तरण गर्दै जाने बताइएको छ ।
स्थानीय जग्गाधनीसँग घर बनाउन जमिन खरिद गर्ने व्यक्तिले किस्ताबन्दीमा ३० देखि ४० प्रतिशत रकम भुक्तानी गरेपछि जग्गा पास गर्ने व्यवस्था मिलाइएको छ ।
घर बनाउन जमिन खरिद गर्ने व्यक्तिलाई नक्सा पास गरेर उपलब्ध गराइसकेपछि घर निर्माणमा टेक्नोकल्चरले सम्झौताबमोजिम सहजीकरण गर्नेछ, वास्तु विहारका अनुसार घर निर्माण गर्न एकैपटक ठुलो लगानी गर्न नसक्नेहरुलाई लक्षित गरेर वास्तु विहारले सहजीकरण गर्दै जानेछ ।
बाँकी रकम नियमबमोजिम बुझाउनुपर्ने छ । जमिन पास भइसकेपछि उक्त जमिनमा वास्तु विहारले सम्झौताबमोजिम घर निर्माण सम्पन्न गर्ने जनाइएको छ ।
भारतमा ३६ हजार घर निर्माण गरेर हस्तान्तरण गरिसकेको वास्तु विहारले नेपालमा वीरगञ्ज, विराटनगर र बिर्तामोडमा १० हजार निर्माण गर्ने लक्ष्य राखेको छ ।
नेपाल र भारतका पाँचवटा प्रदेशहरुका ६५ वटा सहरमा वास्तु विहारले घर निर्माणको सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
जमिन खरिद गर्न पैसाको अभाव हुने, घर बनाउन एकैपटक लगानी गर्न नसक्ने नेपाली नागरिकलाई वास्तु विहारले निर्माणको आधारमा भुक्तानी गर्न मिल्नेगरी सुविधा दिएको जनाएको छ ।