२०८२ असार २२ आइतबार
Jhapa Today
Adv top

नाबालिका बलात्कारको घटनाः पैसामा मिलाउन खोज्ने गिरी बावुछोरासहित चार पक्राउ


बिर्तामोड, चैत ११ । इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार गरिसकेपछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने र बलात्कार आरोपीलाई झापाको सिमानाबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र छिमेकी ३८ वर्षीय पाँचथरे भनिने तुलाधर अर्याल रहेका छन् ।

उनीहरुमध्ये पीडक केशव र नारायणलाई इलाम झापाको सिमानाबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । केदारनाथ र अर्याललाई घरैबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

आरोपितहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

उनीहरुलाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखेर अनुसन्धान भइरहेको छ ।

गत चैत ६ गते साँझ ६ः३० बजे इलाम माई–२ सितलीस्थित चिया बगानमा माई नगरपालिका २ बस्ने २४ वर्षीय केशवले वडा नम्बर ४ बस्ने १३ वर्षीया नाबालिकालाई ललाई फकाई डर त्रासमा पारी जबरजस्ती करणी गरेका थिए ।

त्यस घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा केशव भागेका थिए ।

त्यसबीचमा छिमेकी अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाई ३ लाख रुपैयाँ दिएका थिए । अनुसन्धानको क्रममा उक्त रकम पीडितका आमाको साथबाट बरामद गरिएको छ ।

आफूलाई प्रभाव र दबाबमा पारेर घटना मिलाउन खोजेको भन्दै पीडितकी आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् ।

Adv footer