बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारा-११ मा मकैबारीमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान भेटिएको जिल्ला प्रही कार्यालय झापाले जनाएको छ ।
उनको एउटा खुट्टामा घाउ भएको र वीरे दमाईसँगै दमाईको कटेरोमा बस्ने गरेको बताइएको छ । दमाईको कटेरोनजिक ती पुरुषको शव भेटिएको हो ।
शवको प्रकृति हेर्दा केही दिनअघि मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए ।
प्रहरीले अनुसन्धानका लागि वीरे दमाईलाई पक्राउ गरेको छ । दमाईको घरमा मृत्यु भएर शव मकैबारीमा फालेको हुनसक्ने डिएसपी विष्टले बताए । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे अनुसन्धान थालिएको उनले जानकारी दिए ।