
बिर्तामोड, चैत २८ । पूर्वी नेपालको झापासहित तराई र पहाडी क्षेत्रमा मेघगर्जनसहित एकाबिहानैदेखि वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने अनुमान गरिएको छ ।
हाल देशमा न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद गोविन्द झाले लगातार भने पानी नपर्ने बताए । केहीबेर रोकिने अनि फेरि पर्ने क्रम दिनभरि नै रहने उनको भनाइ छ । पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भइरहेको झाले बताए ।
अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । तर, मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा देखिन्छ ।
लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको छ । तर, कतैकतै असिना पानी, चट्याङ र पहिरोले भने दुःख दिएको छ ।
मौसमविद झाले पर्सिदेखि मौसममा क्रमिक सुधार हुने बताए । आजको तुलनामा भोलि र भोलिको तुलनामा पर्सि कम पानी पर्ने उनको भनाइ छ ।