२०८२ बैशाख ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जलवायु परिवर्तनको असर र लागुऔषध दुर्व्यसनविरुद्ध कचनकवल-लोबुचे यात्रा


बिर्तामोड, बैशाख २ । जलवायु परिवर्तनको असर र लागुऔषध दुर्व्यसनविरुद्धको सचेतनात्मक अभियान र कोशी प्रदेशको पर्यटन प्रवर्धनको उद्देश्यसाथ बिर्तामोडको ट्रेक ८५८६ का सदस्यले ६११९ मिटरको लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

नेपालको सबैभन्दा होचो भूभाग कचनकवल (५८ मिटर) बाट सुरु भएको यात्रा सगरमाथा आधार शिविर, कालापथ्थर हुँदै लोबुचे पुगेको हो ।

बिर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, इसेवा र वीरता जेसिजको सहयोग रहेको अभियान पूर्वमा उदाउँदै गरेको ट्रेकिङ एजेन्सी ट्रेक ८५८६ ले आयोजना गरेको हो ।

लोबुचे हिमालको शिखरबाटै कोशी प्रदेश पर्यटन वर्ष २०८२ को प्रवर्धनसमेत गरिएको थियो । अभियानमा कोशी प्रदेशका विभिन्न जिल्लाका नौजना युवा सहभागी थिए । अभियानको नेतृत्व ट्रेक ८५८६ का सञ्चालकद्वय अमिर राई र मनोज बस्नेतले गरेका थिए ।

जलवायु परिवर्तनका कारण उत्पन्न उच्च तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारिरहेको, विश्वलाई नै आक्रान्त बनाइरहेकाले जलवायु परिवर्तनका विषयमा सबैको ध्यानाकर्षण गर्न अभियानले आह्वान गरेको छ ।

त्यस्तै, समाजमा मौलाउँदै गएको लागुऔषध दुर्व्यसनका विरुद्ध पनि चेतनामुलक सन्देश दिन खोजिएको टोलीका सदस्य विशाल राईले बताए ।

प्रचुर पर्यटन सम्भावना बोकेको कोशी प्रदेशका केही गन्तव्यहरुबाहेक धेरै पर्यटकीय स्थलहरू अझै पनि पर्यटकहरुको प्रतिक्षामा रहेका छन् ।

यो अभियानमार्फत लोबुचे हिमालको शिखरबाटै सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकलाई कोशी प्रदेश भ्रमणको निमन्त्रण समेत गरिएको थियो ।

Adv footer