
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामुहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालले धाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामुहिक विवाह गराएको हो ।
वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।
सामुहिक विवाहमा वरवधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुलासहित भाँडा वर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्था समेत गरिदिएको उनको भनाइ छ ।
अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामुहिक विवाह गर्ने लक्ष्य लिएको जनाइएको छ । समितिले यो वर्ष २५ जोडीको विवाह गर्ने योजना बनाएको थियो ।