२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव


बिर्तामोड, बैशाख ३ । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्द्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पु¥याएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन् ।

भ्रमणले स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसामु प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए ।

अप्रिल १३ तारिखका दिन काठमाडौँबाट भद्रपुर विमानस्थल, बिर्तामोड हुँदै इलामको यात्रा सुरु भएको थियो । भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई सूर्योदय नगरपालिकाद्वारा अतिथिहरूको भव्य स्वागत गरिएको थियो ।

पाहुनाले सांस्कृतिक नृत्य, लोकसंगीत तथा आतिथ्य कार्यक्रमको मज्जा लिएका थिए । हर्स राइडिङको विशेष अनुभव लिएर उक्त टोली श्रीअन्तुतर्फ प्रस्थान गरेको थियो ।

अप्रिल १४ तारिखका दिन बिहान सबेरै श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएको थियो । अन्तु पोखरीमा माछा मार्ने र डुङा सयर गर्ने गतिविधि भएको थियो । त्यस्तै, चिया टिप्ने प्रतियोगिता र चाख्ने कार्यक्रम समेत आयोजना गरिएको थियो ।

स्थानीय उत्पादन चिज चाख्ने कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुनाहरू सहभागी भएका थिए । उक्त प्रतिनिधिमण्डल अप्रिल १५ तारिखका दिन इलामबाट विदा भएर भद्रपुर विमानस्थल हुँदै काठमाडौँ फिर्ता भएको थियो ।

Adv footer