
बिर्तामोड, बैशाख ४ । झापा बिर्तामोडको एक पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा ‘कीरा भेटिएको’ भन्ने कुरा तथ्यहीन भएको सञ्चालकले बताएका छन् ।
बिर्तामोड-३ बिर्ताबजारको प्रकाश बेभरेज प्रालिले उत्पादन गरेको लाइफ केयर पानीमा कीरा भेटिएको भन्दै एकजना उपभोक्ताले दाबी गरेकी छन् ।
तर, उद्योगका सञ्चालक प्रकाश महतोले सो पानी आफ्नो उद्योगले उत्पादन गरेको पानी नभएको जिकिर गरेका छन् । साथै, सो पानीको शिलप्याक पनि नभएको बताइएको छ ।
यसैबीच, सञ्चालक महतोले बालकृष्ण बुढाथोकी नाम गरेका एकजना व्यक्तिले आफूसँग पैसा मागेको र नदिएपछि ‘फसाइदिने धम्की’ दिएको बताएका छन् ।
सैनिकमोडका अर्का एकजना व्यक्तिले पनि पानीको कारण देखाउँदै दुई वर्षयता आफूले प्रयोग गरेको पानीको रकम उल्टै उद्योगले फिर्ता गर्नुपर्ने अनावश्यक माग राखेको महतोले बताए ।
यसैबीच, पानीमा कीरा भेटिएको जानकारी आएपछि आज बिर्तामोड नगरपालिका र खाद्य प्रविधि कार्यालयले उद्योगको अनुगमन गरेको छ । अनुगमनमा अनिवार्य सहभागी हुनुपर्ने उद्योग वाणिज्य संघको भने उपस्थिति थिएन ।
सञ्चालक महतोले आफ्नो उद्योगको कागजी विवरण र उत्पादित पानीबारे छानबिन र परीक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । त्रुटि भेटिए कारबाही भोग्न आफू तयार रहेको महतोले बताए ।