२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका कृषकलाई नगरपालिकाद्वारा सात सय बाख्रा वितरण


बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोड नगरपालिकाले स्थानीय कृषकको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले उन्नत जातको बाख्राका सात सयवटा पाठा कृषकहरुलाई वितरण गरेको छ ।

नगरका १० वटा वडाका पशुपालक किसानमध्ये गोला प्रथाबाट छनोट गरेर १६ वटा कृषक समूहका २४० जना कृषकलाई ७२० वटा बाख्रा वितरण गरिएको पशुपंछी तथा मत्स्य विकास शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिइन् ।

नगरपालिकाले कृषकहरुलाई बाख्रा वितरणका लागि २०७४ देखि ‘मेयर पकेट बाख्रा वितरण कार्यक्रम’ सञ्चालन गर्दै आएको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताइन् ।

गोलाप्रथाबाट छनोटमा परेका समूहमा आबद्ध हरेक कृषकले तीनवटाका दरले उन्नत जातको बाख्राको पाठा पाउने गरेका छन् । एउटा समूहमा एउटा बीऊ बोका समेत दिइने गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ को समृद्धि पूर्णिमा कृषक समूहका १५ जना कृषकले पछिल्लोपटक ४५ वटा बाख्राका पाठा पाएको वडा अध्यक्ष किशोर पौडेलले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले माछा, मासु, दुध र तरकारीमा नगरलाई आत्मनिर्भर बनाउन ठुलो लगानी गर्दै आएको नगरप्रमुख प्रसाईं बताउँछिन् । ‘मेयर पकेट कार्यक्रम’ अन्तर्गत कृषकहरुलाई बाख्रासँगै बंगुरका पाठा समेत वितरण गरिँदै आएको छ ।

अधिकृत दाहालले कृषकलाई दिइएको बाख्रा र बंगुरको बीमा गरिँदै आएको बताइन् । नगरपालिकाले आयातित तरकारीलाई निरुत्साहित र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न ‘पारिको होइन बारीको’ भन्ने कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा किसानका उत्पादन बिक्री गर्ने पसल समेत सञ्चालन गर्दै आएको छ ।

Adv footer