
बिर्तामोड, बैशाख १५ । करिब दुई साताअघि सडक दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ ।
सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ गते बिर्तामोड-६ रेखा पुलनजिक दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा आज दिउँसो २ः१५ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १० प ७३३६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ९८७३ नम्वरको छोटा हात्ती गाडीलाई ओभरट्याक गर्ने क्रममा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ ज ००४८ नम्बरको इलेक्ट्रिक भ्यान एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २६ वर्षीय राजवंशी र उक्त मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँ बस्ने २३ वर्षीया प्रियंका राजवंशी घाइते भएका थिए ।
दुवै घाइतेलाई बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।
तीनवटै सवारी साधन, भ्यान चालक इलाम माईजोगमाई ५ बस्ने २२ वर्षीय नविन खत्री, छोटा हात्ती गाडी चालक ताप्लेजुङ पाथिभरा याङवरक ५ बस्ने ३० वर्षीय बुद्धिवीर तामाङलाई अस्थाई प्रहरी चौकी बुट्टाबारीले नियन्त्रणमा लिएको छ ।