
बिर्तामोड, बैशाख १६ । बजारमा खोस्टा मुङ दालको मूल्य बढेको छ । रहर, मुसुरो, चना दालको मूल्य भने स्थिर छ ।
नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले खोस्टा मुङको मूल्य बढेको देखाएको हो ।
संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ । १५ दिनअघिको तुलनामा खोस्टा मुङको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ । बैशाख १ गते खोस्टा मुङ दाल प्रतिकिलो १९० रुपैयाँमा कारोबार भइरहेको थियो । अहिले भने उक्त दालको मूल्य किलोको २०० रुपैयाँ कायम छ ।
त्यस्तै, तथ्यांकअनुसार रहर दाल प्रतिकिलो २३० रुपैयाँमा कारोबार भइरहेको छ । १५ दिनअघि पनि रहर दाल सोही मूल्यमा कारोबार भएको थियो । मुसुरो दालको मूल्य प्रतिकिलो १६५ र चना दाल १७० रुपैयाँ कायम छ ।
छाटा मुङ प्रतिकिलो १९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मुङ गेडाको मूल्य पनि बढेको छ । १५ दिनअघि १९० रुपैयाँमा कारोबार भएको मुङ गेडाको मूल्य १० रुपैयाँले बढेर २०० रुपैयाँ कायम छ ।
नेपालमा दालको उत्पादन कम मात्रामा हुने हुँदा भारत लगायत अन्य देशबाट आयात हुँदै आएको छ ।