
बिर्तामोड, बैशाख १८ । चितवनबाट झापा फर्कँदै गरेको स्करपियो कार उदयपुरको कटारीमा दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । उनीहरु नगरपालिकाको भ्रमण सकेर फर्किंदै थिए ।
घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कटारीको टोलीले घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पठाएको छ । त्यसमध्ये झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् ।
आज दिउँसो ४ः १० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका–६ सोमबारेमा मे. १ च ३०४० नम्बरको स्करपियो बार आफैँ अनियन्त्रित भई सडककिनारमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा रहेका चालकसहित सातैजना झापाका बासिन्दा हुन् ।
घाइते हुनेहरुमा चालक दमक–९ बस्ने ३८ वर्षीय देवेन्द्र तामाङ (दायाँ हात र बायाँ घुँडामा चोट अवस्था बोल्न सक्ने सामान्य ), दमक–१० बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी (बायाँ गाला र बायाँ हात खुट्टामा चोट अवस्था मध्यम ), दमक–१ बस्ने ४५ वर्षीय ज्ञानेन्द्र गौतम (टाउको र बायाँ गालामा चोट अवस्था मध्यम ), दमक–६ बस्ने ५४ वर्षीय कमल श्रेष्ठ (टाउको र बायाँ पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य ), दमक–२ बस्ने ३८ वर्षीय नवीन खतिवडा (दायाँ हातमा चोट अवस्था सामान्य ) र गौरादह–१ बस्ने ५४ वर्षीय भुवन दाहाल (टाउको र दायाँ हातमा चोट अवस्था बोल्न सक्ने सामान्य ) रहेका छन् ।