२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अधुवा खोलामा तटबन्ध गरिने, ३० लाख बजेट


बिर्तामोड, बैशाख २५ । झापाको मुख्य बजार बिर्तामोड भएर बग्ने अधुवा खोला किनारमा व्यवस्थित तटबन्ध गरिने भएको छ । बिर्तामोड १ र ५ को केही क्षेत्रमा तटबन्ध गरिने भएको हो ।

हरेक वर्ष छठ पूजा आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटबन्ध गरिने भएको १ नम्बर वडाका वडा अध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

सो तटबन्धको नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले शिलान्यास गरिन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरको ३० लाख रुपैयाँ बजेटमा तटबन्ध बन्न लागेको हो ।

उपभोक्ता समितिमार्फत ६६ मिटर क्षेत्रमा व्यवस्थित तटबन्ध गरिने भएको पाण्डेले बताए । त्यसमध्ये १५ मिटर वडा नम्बर ५ को क्षेत्रमा पर्दछ ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईंले बिर्तामोडमा अहिले २ अर्ब रुपैयाँभन्दा बढीका योजनाहरु सञ्चालन भइरहेको बताइन् ।

उनले बुट्टाबारी–प्याकुरेलचोक सडक, हर्कलाल मार्ग, चन्द्रमार्ग, गोकुल जोशी मार्गलगायतका योजनाहरु नगर, प्रदेश र संघको बजेटबाट सञ्चालन भइरहेको जानकारी दिइन् ।

त्यस्तै, वडा अध्यक्ष पाण्डेले वडा नम्बर १ मा विभिन्न कारणले लामो समयदेखि थाँती रहेको तटबन्ध कार्य सुरु भएको बताए । उनले उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न सुझाव दिए ।

Adv footer