बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा २९ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको दुई साता नबित्दै फेरि धनमाल चोरी भएको छ ।
आज बिहान ११ देखि १२ बजेको बीचमा बिर्तामोड ३ पुण्डरी टोल बस्ने किरण दाहालको अढाई तले घरबाट १९ लाख रुपैयाँबराबरको नगद र गरगहना चोरी भएको हो ।
बीच तलाको कोठाको चाबी घरधनीले कोठा अगाडि जुत्तामा लुकाई राखेकोमा सोही चाबीले कोठाको ढोका खोलेर सुनको हार ३ थान, चन्द्रमा १ थान, औँठी ६ थान, तिलहरी २ थान, कटरगेडी १ थान, नौगेडी २ थान, पिँजडा १ थान, सिक्री १ थान गरी ९ तोला ६ आना बराबरको सुन र नगद ४० हजार गरी १९ लाख २ हजार ४०० रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।