
बिर्तामोड, बैशाख २७ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमितिका लागि अध्यक्ष र सहसचिवबाहेक पदमा सहमति नजुटेपछि भएको निर्वाचन सकिएको छ ।
निर्वाचन समितिका सदस्य बिगम श्रेष्ठका अनुसार आज सम्पन्न मतदानमा १०३ मत खसेको छ । संघमा १०७ जना मतदाता रहेका थिए । मतदान सकिएलगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
अन्य पदाधिकारी र सदस्यमा आवश्यकभन्दा बढी सदस्यको उम्मेदवारी दर्ता भएपछि सहमतिको प्रयास गरिएको थियो । तर, सहमति नभएपछि आज मतदान प्रक्रियामा संघ गएको हो ।
प्रथम अधिवेशनबाट अध्यक्षमा हालका अध्यक्ष धनबहादुर पन्धाक र सहसचिवमा सरिता बराल निर्विरोध निर्वाचित भइसकेका छन् । प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा तीनतीनजनाको उम्मेदवारी परेको छ ।
प्रथम उपाध्यक्षमा अजय देव, राजन सिलवाल र नारायण कोइरालाको उम्मेदवारी परेको छ । त्यस्तै, द्वितीय उपाध्यक्षमा कर्णबहादुर पौडेल, अञ्जु लामिछाने र प्रकाश राईले उम्मेदवारी दिएका छन् ।
सचिवमा हालका सचिव सिपी पाठक, गौराीमान राई र निरन पोखरेलको उम्मेदवारी रहेको छ । कोषाध्यक्षमा कृष्ण खतिवडा, कुमार लिम्बू र विनोद राईले उम्मेदवारी दिएका छन् ।
नौजना सदस्यका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुनेछ । संघमा १०५ जना सदस्य छन् ।