
बिर्तामोड, बैशाख २८ । मेलमिलापकर्ताहरुलाई न्याय सम्पादनमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालित चार दिने लेखनसीप कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा लेखनसीप सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाका मेलमिलापकर्ताहरु सहभागी भएको लेखनसीपमा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेल, झापा बारका अध्यक्ष वसन्त नेपाल र अधिवक्ता कोपिला अधिकारीले सहजीकरण गरेका थिए ।
वडा तहसम्म रहेका मेलमिलापकर्ताहरुलाई कार्यक्रममा लिखतका प्रकार, कानुनी व्यवस्था, मस्यौदा, निवेदनको ढाँचा, लेनदेन, कारोबार, बैनाबट्टा, जाहेरी, करारनामा, संयुक्त दरखास्त, मिलापत्र र वारेसनामा लगायतका लिखतहरुमा सहजीकरण गरिएको थियो ।
बिहीबार नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेको कार्यक्रमको नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।
न्यायिक समितिका सदस्य खडानन्द निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुको तर्फबाट तिलरुपा श्रेष्ठ, ओमभक्त सेडाईं, लक्ष्मीप्रसाद गौतम लगायतले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए । सहभागीहरुलाई प्रमुख अतिथि नगरप्रमुख प्रसाईंले प्रमाणपत्र वितरण गरेकी थिइन् ।