
बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाका विभिन्न पालिकामा भौतिक क्षति पुगेको विवरण संकलन भएको छ ।
हावाहुरीले खासगरी दमक, मेचीनगरमा क्षति पुर्याएको छ भने कनकाईको सीमामा पर्ने बाह्रदशीको एउटा केरा बगानमा बोटहरु लडाएको र हल्दिबारीमा एउटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
दमकका धेरै घरहरुको छाना उडाएको र धेरै बिजुलीको पोल भत्काएको छ । हावाहुरीले गरेको व्यापक क्षतिको विवरण निकाल्ने काम भइरहेको छ ।
साँझ ६ बजेको समयमा वर्षासंगै आएको हावाहुरीले दमक-४ संगमचोक बस्ने कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाएको छ । भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुईवटा कोठाको जस्ता उडाएको छ ।
दुर्गा प्रसाईंले सञ्चालन गरेको दुर्गा काँटा गल्ला भण्डारको जस्तापाता पूर्णरुपमा उडाएको छ । स्टोर हलभित्र रहेको ६० बोरा फापर पानीले भिजेर क्षति पुगेको छ । बालुवाटारमा पनि पाँचवटा घरको छाना उडाएको छ ।

त्यस्तै, हावाहुरीले बाह्रदशी–७ बत्तीसबिघा क्षेत्रमा लगाएको केरा खेतीमा ठुलो क्षति पुगेको छ । ४० बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको केरा खेतीमा लाखौँको नोक्सान भएको छ ।
त्यस्तै, मेचीनगर १५ गाइनाबारीमा गरेको कामक्ष इन्डस्ट्रिज प्राइभेट लिमिटेड (प्लाइ उद्योग) मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिमको ट्रस उडाएको छ । एउटा सिसिटिभी क्यामेरा समेतमा फुटेको छ ।
त्यस्तै, हावाहुरीले हल्दिबारी-४ बलटोल बस्ने ६९ वर्षीय सकलदिप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीन कोठे कच्ची घर उडाई पूर्णरुपमा क्षति भएको छ ।