२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापा थ्रि एक्स थ्रि बास्केटबलको उपाधि काठमाडौँको टाइम्सलाई


बिर्तामोड, बैशाख ३० । झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्रि एक्स थ्रि बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ ।

हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली आर्मीमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरमा जित निकाल्दै उपाधि रक्षा गरेको हो ।

जितसँगै टाइम्सले नगद २ लाख र आकर्षक ट्रफी प्राप्त गर्‍यो । उपविजेता बनेको आर्मीले नगद १ लाखमा चित्त बुझाएको छ । टाइम्सकै श्रेयसबहादुर शाह बेस्ट प्लेयर बने ।

आर्मीले सेमिफाइनलमा झापा बास्केटबल एसोसिएसनलाई २१–६ को फराकिलो स्कोरले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो । त्यस्तै, टाइम्सले धरान सुनसरीको इमोर्टलसलाई १९–१४ स्कोरमा रोक्दै उपाधिनजिक पुगेको थियो ।

झापा जिल्ला बास्केटबल संघ र बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा देशभरका १६ वटा प्रतिष्ठित टोलीहरुको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टिमलाई प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेन, नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

Adv footer