
बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा संघीय र प्रदेश सरकारका २९ वटा योजना सञ्चालनमा छन् ।

चालु आर्थिक वर्षमा सडक कालोपत्रे, सिँचाइ, खोला–पैनीको मुहान संरक्षण, मलामी घाट निर्माण, शिक्षा लगायतका २९ वटा योजना सञ्चालनमा रहेको बुद्धशान्ति–१ का वडा अध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

“वडाको विकासका लागि संघ र प्रदेश सरकारमा कार्यक्रम लिएर धाइरहेको छु”, वडा अध्यक्ष वाग्लेले भने, “आवश्यकता धेरै छन्, प्राथमिकताका आधारमा काम भइरहेको छ ।”

कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय योजना सम्पन्नको चरणमा रहेको वडा अध्यक्ष वाग्ले बताउँछन् । वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

सिँचाइका लागि एक दर्जन पैनी–खोलामा संघ, प्रदेश, गाउँपालिका र वडाको बजेटबाट ‘क्यानल’ निर्माण भइरहेको छ । वडाको लक्ष्मी–बिरिङ पैनीको मुहान क्षेत्र संरक्षणका लागि संघ र प्रदेशको बजेटबाट ‘बिग बोल्डर’ निर्माण गरिएको उनले बताए ।

लागत सहभागितामा जोड
व्यावसायिक कृषिलाई जोड दिँदै आएको वडाले लागत सहभागितालाई प्राथमिकतामा राखेको छ । मागअनुसार ५० प्रतिशत लागत सहभागितामा ३५० जना कृषकलाई फलामे हलो, एक चक्के ठेला, स्प्रे ट्यांकी, टनेल, सिँचाइ मोटर वितरण गरिएको छ ।
सुपारी खेती प्रशस्त रहेकाले घुसुवा बाली प्रबद्र्धनअन्तर्गत मरिच खेती गर्न चाहने कृषकलाई वडाले मरिचको बिरुवा वितरण गर्न लागेको छ । पशुपालक कृषिकलाई प्रोत्साहितका लागि कृषकबाट १०० र वडाको ३०० लगानीमा गाई–भैँसीको कृत्रिम गर्भाधान सेवा प्रदान गरिँदै आएको छ । वडाले बाह्रमासे कटहर र फलफूलका बिरुवा समेत वितरण गरेको छ ।
गोबर ग्यासका लागि १० हजार
कृषकको आम्दानी बृद्धिमा सहयोग पुर्याउने उद्देश्यले गोबर ग्यास प्लान्ट निर्माणका लागि १० हजार रुपैयाँ अनुदान दिने गरिएको छ ।
गत आर्थिक वर्षमा २९ वटा र चालु आर्थिक वर्षमा २१ वटा गरी ६ घनमिटरको ५० वटा गोबर ग्यास प्लान्ट निर्माण भइसकेको वडा सदस्य लक्ष्मी कडेलले जानकारी दिए ।
गोबर ग्यास प्लान्ट निर्माणका लागि संघीय सरकारले प्राविधिक सहयोगसहित चुल्हो, पाइप लगायतका आवश्यक सामान प्रदान गर्ने गरेको उनले बताए ।
ग्यास प्रतिस्थापनको प्रयास
भान्साबाट सिलिन्डर ग्यास प्रतिस्थापन गर्नु साथै भान्साको खर्च कटौती गराउने उद्देश्यले वडाले विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिरहेको छ । यो वर्ष २४० घरपरिवारलाई तीन हजार २७० रुपैयाँ पर्ने विद्युतीय चुल्हो वितरण भइरहेको वडा सदस्य मोहनकुमार राईले बताए । जसमा ५० प्रतिशत लाभग्राहीले व्यहोर्नुपर्ने उनले बताए ।
वडाको ७४ लाख, वडा गौरवअन्तर्गत ३० लाख र वडाबासीसँगको ७०/३० लागत साझेदारीमा २४ लाख गरी एक करोड २८ लाख रुपैयाँ वडाको बजेट रहेको वडा सचिव लोकमाया बानियाँले जानकारी दिइन् ।
गत स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष अनिल वाग्ले, वडा सदस्य लक्ष्मी कडेल, मोहनकुमार राई, तुलसा खतिवडा रेग्मी र सुमित्रा रसाइली निर्वाचित भएका थिए ।