मेचीनगर, जेठ ४ । झापा मेचीनगरको सबैभन्दा ठुलो र व्यस्त बजार धुलाबारीमा रहेको द गिफ्टोरियम अवैध वित्तीय कारोबारको ठुलो केन्द्र भएको पुष्टि भएको छ । धुलाबारी कुनैबेलाको हङकङ मार्केटले चिनिएको बजार हो ।


दुई साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेपछि धुलाबारीको गिफ्टोरियमबाट अवैध वित्तीय कारोबार सञ्चालन भएको खुलेको थियो ।


११ जिल्लाबाट पक्राउ परेका उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको ब्युरोले जनाएको छ । पक्राउ परेका उनीहरुको जानकारीका आधारमा सिआइबीले अवैध वित्तीय कारोबारमा संलग्न सातजनालाई पाँच दिनअघि गिफ्टोरियमबाट पक्राउ गरेको हो ।


गिफ्टोरियमका मुख्य सञ्चालक धुलाबारीका कविस मारु र अनुज मारु हुन् । उनीहरुसँगै सहयोगीहरु मेचीनगरका धुलाबारीका निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, बिर्तामोडका अंकित अग्रवाल र सुनिल राई पक्राउ परेका छन् ।
उनीहरुसँग झापाका अन्य व्यक्तिहरु पनि अवैध वित्तीय कारोबारमा संलग्न रहेको बुझिएको छ । जसको बारेमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।


अवैध वित्तीय कारोबारको ठुलो र पुरानो सञ्जाल भएकाले त्यसबारे अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए । गिफ्टोरियमबाट प्रत्यक्ष रुपमा अवैध वित्तीय कारोबारको सञ्जाल सञ्चालन भएको विषयमा पनि अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

बुधबार धुलाबारीमा पक्राउ परेका सातजनालाई सिआइबीले अझै सार्वजनिक गरेको छैन । अवैध वित्तीय कारोबारमा झापाका अन्य व्यक्तिहरु पनि संलग्न रहेको आशंकामा सिआइबीले अनुसन्धान गरिरहेकाले उनीहरुलाई सार्वजनिक नगरेको स्रोतले जनाएको छ ।

बाहिरी रुपमा आयात निर्यातको ठुलो कारोबार गर्दै आएको द गिफ्टोरियमको अवैध वित्तीय कारोबारको सञ्जाल देशभरि देखिएको ब्युरोले जनाएको छ ।