
दमक, जेठ ४ । झापाको दमक-५ मा रहेको सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीको नेतृत्व निर्वाचनमार्फत चयन गरेको छ । शैक्षिकसत्र २०८२ का लागि विद्यार्थी नेतृत्व चयन गर्दै शपथ ग्रहण गराइएको छ ।

विद्यालयमा आज भएको कार्यक्रममार्फत स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन निर्वाचित गरिएको प्रधानाध्यापक नविन योगीले जानकारी दिए ।

नेतृत्व विकास र लोकतान्त्रिक अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयले निर्वाचन आयोजना गरेको हो । उम्मेदवारी दर्ता, प्रचारप्रसार, मतदान, मतगणना र नतिजा प्रकाशन विद्यार्थीले आफ्नै व्यवस्थापनमा गरेका थिए ।

एक कार्यक्रमका बीच नवनिर्वाचित क्याप्टेनहरूलाई प्रधानाध्यापक योगीले ब्याज प्रदान तथा शपथ ग्रहण गराएका छन् ।

यस्ता अभ्यासले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, लोकतान्त्रिक मूल्य र जिम्मेवारीबोधको विकासमा प्रभाव पार्ने विद्यालयले विश्वास लिएको जनाएको छ ।