
बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोडमा भएको राष्ट्रियस्तरको उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् ।

पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जित निकाल्दै ८ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा उपाधि जितेका हुन् । एक खेलमा हार व्यहोरेका उनले महत्वपूर्ण फाइनल खेलमा खोटाङका धीरेन राईलाई पराजित गरे । उनले ट्रफीसहित नगद ५१ हजार रुपैयाँ प्राप्त गरे ।

स्पर्धामा फिडे मास्टर रुपेश जैशवालले समान ८ अंक नै जोडे पनि पुरुषोत्तमसँग प्रोग्रेसिभ अंकको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहे । नेपाल च्याम्पियन रुपेशले अन्तिम खेलमा सुनसरीका राजेन्द्र राईलाई निकै कठिन खेलमा पन्छाउँदै नगद ३५ हजार रुपैयाँ पाए ।

सिएम नविन तण्डुकार तेस्रो स्थानमा रहे । पूर्व नेपाल च्याम्पियन उनले नवौँ चरणको खेलमा ललितपुरका सरोज महर्जनलाई हराए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषोत्तमसँग हारेका धीरेन राई चौथो भए र २५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक बिर्तामोड चेस क्लबका उपाध्यक्ष तथा प्रतियोगिता निर्देशक ज्वाला इम्बुङ पाँचौँ भए र उनले २० हजार रुपैयाँ जिते ।
प्रतियोगितामा विधागततर्फ नव प्रवेशी जीवन राई, सिनियरमा वसन्त लामा, महिला कृतिसारा अधिकारी, झापा जिल्ला राज लिम्बू, रेटिङ १६ सयमा डक्टर सन्तोष प्रसाद साह, १८ सयमा विनय थापा, युवा १४ कृष्णप्रसाद भारती, युवा १८ सम्यक श्रेष्ठ उत्कृष्ट बने ।
बिर्तामोडतर्फ विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बू, महिलामा विनिता राई, स्कुलतर्फ आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा, कोशी प्रदेशतर्फ विश्वविजय घिमिरे, अनुशासित हरिकुमार गुरुङ, फरक क्षमतामा लक्ष्मीप्रसाद कन्दङवा उत्कृष्ट बन्दै नगद पुरस्कार प्राप्त गरे ।
३३ जनाले ३ लाख ३५ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, हेराकाजी महर्जन, सहआयोजक किरात याक्थुङ चुम्लुङ बिर्तामोडका हिमालय कन्दङ्वा, झापा सचिव भीममाया नेम्वाङ, व्यवसायी पर्वत कार्की लगायतले पुरस्कार वितरण गरे ।