२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

गत वर्षभन्दा आधा घट्यो अदुवाको निर्यात


बिर्तामोड, जेठ १५ । गत वर्षभन्दा यो वर्ष अदुवाको निर्यात आधा घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा ५२ करोड ७५ लाख २२ हजार रुपैयाँबराबरको अदुवा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार यो १० महिनामा ३ हजार १६१ टन अदुवा विभन्न देशमा निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ७ करोड २४ लाख ५४ हजार रुपैयाँ बराबरको ९ हजार ९७० टन अदुवा निर्यात भएको थियो ।

नेपालबाट भारत, जापान, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, जर्मनी लगायत देशमा अदुवा निर्यात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–चैत) सम्मको तथ्यांकले भने अदुवा उत्पादक किसान, व्यवसायी र सम्बन्धित निकाय निराश छन् ।

गत वर्षको तुलनामा यो वर्ष अदुवा उत्पादन घटेको कृषक बताउँछन् । अदुवामा गानो कुहिने रोग लागेका कारण उत्पादन घटेको कृषकको भनाइ छ ।

अदुवा उत्पादक किसानलाई अदुवाको गानो कुहिने, ढुसी लाग्ने कारण समस्या थपेको छ । अर्को, अदुवाको बजार राम्रो हुँदाहुँदै यसको बीउ उत्पादन र संरक्षणमा समस्या रहेको कृषकहरूको गुनासो छ ।

यसैबीच, नेपाल अदुवा उत्पादक संघका अध्यक्ष नगेन्द्र खड्का अदुवा उत्पादक किसान सरकारको दृष्टिमा पर्न नसकेको र यति धेरै निर्यात हुँदा पनि कुनै सेवा सुविधा दिन नसकेको बताउँछन् ।

अदुवा निर्यातका लागि भारतीय बजारमा मात्रै निर्भर हुनुपर्ने र त्यहाँको उत्पादन बढी हुनासाथ नेपालको निर्यात घट्ने प्रमुख समस्याका रूपमा रहेको उनी बताउँछन् ।

भारतमा अदुवा खेती चिया बगानझैँ फैलिएको र भारत सरकारले किसानलाई मल, पानी, बीउ लगायत हरेक कुरामा सहयोग गरेका खड्काले बताए ।

अदुवा उत्पादनमा नयाँ ढंगबाट जान राज्यले किसानलाई अनुदान, विकसित जातको बीउ, मल, औषधि लगायत समयमै उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

किसानहरू अन्य बालीतिर आकर्षित भएका कारण पनि अदुवा उत्पादन घटेको उनको बुझाइ छ । यो वर्ष उत्पादन अझै घट्ने अनुमान गरिएको उनी बताउँछन् ।

नेपालमा वार्षिक २१ देखि २३ हजार हेक्टर क्षेत्रफलमा करिब ३ लाख टन अदुवा उत्पादन हुँदै आएको सरकारी तथ्यांकले देखाउँछ ।

Adv footer