
बिर्तामोड, जेठ २२ । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइएको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड–५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो ।

गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालिएको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघसंस्थाका पदाधिकारीसहित गायत्री माताका भक्तजन, दुई सयभन्दा बढी बटुक, स्काउट तथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागितामा निकालिएको र्याली बिर्तामोड नगर परिक्रमापछि मन्दिर परिसरमा पुगेको थियो ।

यस अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रोनक वंशल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाललगायतले मन्दिरमा आएका श्रद्धालु भक्तजनलाई स्वागत गरेका थिए ।

पूर्वमै पहिलोपटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसँगै गायत्री जयन्ती समेत पहिलोपटक मनाइएको हो ।

बिर्तामोडका युवा व्यवसायी वंशलको अगुर्वाइमा बिर्तामोडस्थित अग्रसेन भवन नजिकै माता गायत्रीको दिव्य मन्दिर निर्माण भएको छ । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको थियो ।
गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गर्ने कार्यक्रम रहेको बताइएको छ ।