बिर्तामोड, जेठ २३ । भारतबाट भद्रपुर हुँदै नेपालतर्फ लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेका एकजना पक्राउ परेका छन् भने दुई प्रहरीलाई छक्याएर भागेका छन् ।

झापाको भद्रपुरस्थित मेचीपुल हुँदै नेपालतर्फ हिँडेर आउँदै गरेका तीनजनालाई सोधपुछ गर्न लाग्दा दुईजना भारततर्फ नै भागेका थिए भने बिर्तामोड-२ का २९ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन् ।

सञ्जयका अनुसार भारततर्फ भाग्नेमा बिर्तामोड-२ का ४० वर्षीय लोकराज राजवंशी र २८ वर्षीय गणेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सञ्जयको साथबाट ३ ग्राम ४ मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीको भनाइ छ । सञ्जयमाथि थप अनुसन्धान भइरहेको छ भने भागेका राजवंशीद्वयको खोजी भइरहेको छ ।





