
बिर्तामोड,जेठ २३ । झापाको बिर्तामोडमा रहेको एक सहकारीका कार्यकारी प्रमुखलाई एकजना ऋणीले ज्यान मार्ने धम्की दिएका छन् ।

बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै सहकारीले आपत्ति जनाएको छ ।

हाल बिर्तामोड-१ मा बस्दै आएका खगेन्द्र क्षेत्रीले बिहीबार बिहान फोन गर्दै पौडेललाई घरमै आएर ज्यान मार्ने धम्की दिएपछि आज संस्थाले पत्रकार सम्मेलन गरेर कारबाहीको माग गरेको छ ।

सहकारीले घटनाको जानकारी गराउँदै दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । क्षेत्रीले संस्थाबाट २०७७ साल चैत २ गते २५ लाख रुपैयाँ ऋण लगेका थिए ।
सो साँवाको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैयाँ ऋण पुगेको छ । सोही रकमको ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भीमबहादुर पौडेल घरमा जाँदा खबीले हतियार निकालेर धाकधम्की दिएका थिए ।

त्यसपछि संस्थाले कानुनी बाटोबाट जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।
पौडेल र क्षेत्रीबीच भएको अडियो सम्वादमा क्षेत्रीले ’पर्खी तँलाई घरमै आएर छप्क्याउँछु’ भनेको सुनिन्छ ।
एउटा सदस्यहरुले गरेको बचत अर्को सदस्यलाई ऋणको रूपमा दिइने भएकाले समयमा साँवा ब्याज नबुझाउँदा सहकारी समस्यामा पर्ने अध्यक्ष भट्टराईले बताए ।
उनले सदस्यले लिएको ऋण समयमा तिर्नु नैतिक दायित्व भएको उनले बताए । समयमा साँवा ब्याज भुक्तानी नगर्ने सदस्यहरुउपर कानुनी कारबाही गर्नु संस्थाको बाध्यता हुने उनको भनाइ थियो ।





