
बिर्तामोड, जेठ ३० । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर नेपाल ल्याइएको सामानसहित एकजना व्यापारीलाई पक्राउ गरेको जनाएको छ ।

अवैध सामानसहित पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ३२ वर्षीय नारायण सिटौला रहेका छन् । बरामद सामनाको धनी सिटौला रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले बिर्तामोड–५ सुब्बाचोकबाट भन्सार छलेर ल्याएको सामानसहित गाडी र धनीलाई पक्राउ गरेको हो । मे.१ च ६२८४ नम्बरको पिकअप भेनमा लुकाएर राखेको सामान बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले सो स्थानबाट ५० किलो ग्रामको दरले २५ बोरा चिनी, पिकअप गाडीसहित १२ लाख मूल्यबराबरको सामान नियन्त्रणमा लिएको थियो । चिनीको मूल्य १ लाख २५ हजार रुपैयाँ रहेको छ ।

सिटौलालाई इलाका प्रहरी कार्यालय अनारमनी राखिएको छ भने चिनी र भेन मेची भन्सारमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
