
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडकी एकजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको प्रहरीको विशेष स्रोतले जानकारी दिएको छ ।

बिर्तामोड-५ की ५२ वर्षीया महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । हिजो बिर्तासिटी अस्पतालमा परीक्षण गराउँदा ती महिलाको रिपोर्ट पोजिटिभ थियो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखापरेयता पहिलोपटक झापामा संक्रमण पुष्टि भएको हो । ती संक्रमित महिला घरमै आइसोलेसनमा बसिरहेकी छन् ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । ती महिलालाई कोरोना संक्रमण भएकोबारे स्पष्ट प्रमाणहरु आउन सकेका छैनन् ।

यसअघि कोरोना संक्रमणबाट झापामा २८ हजार ९०८ जना संक्रमित भएका थिए । त्यसमध्ये ६७२ जनाको मृत्यु भएको थियो ।

झापामा १ लाख ३८१ जनालाई पिसिआर टेस्ट र ४२ हजार ४१० जनालाई एन्टिजेन टेस्ट गरिएको थियो । कोरोना ज्वरोजस्तै संक्रमण हो ।

अधिकारीहरुले ती महिलामा कोरोना संक्रमण भएकोबारे अनुसन्धान सुरु गर्ने जनाएका छन् । साथै, बिर्तामोड लगायत आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइने जनाइएको छ ।