
बिर्तामोड, जेठ ३० । प्रहरीले झापाको मेचीनगरबाट करिब साढे पाँच लाख मूल्यको अवैध मोबाइलसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारत पश्चिम बंगालका ६५ वर्षीय नुर आलम रहेका छन् । उनलाई अवैध मोबाइलसहित पक्राउ गरिएको हो ।

उनले भन्सार छलर १३ वटा मोबाइल ल्याएको प्रहरीले जनाएको छ । आलमलाई हिजो दिउँसो ३ः३० बजे मेचीनगर १२ धुलाबारी बस स्ट्यान्डबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले धुलाबारीबाट इटहरी जाने बसमा चढ्न लागेका आलमलाई मोबाइलसहित नियन्त्रणमा लिइएको थियो ।

५ लाख ४० हजार मूल्य बराबरको मोबाइलसहित आलमलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
