
बिर्तामोड, असार २ । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको जैविक विविधता भएको चारकोशे वन क्षेत्रमा दुर्लभ प्रजातिको कछुवा भेटिएको छ ।

पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेँलो रङ्गको कछुवा भेट्टाएका हुन् ।

उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिए ।

पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो कछुवा नेपालका केही तराई क्षेत्रमा करिब ४०० मिटर उचाइसम्म पाइने उनले बताए ।

“यो कछुवाको ‘क्रोमेटिक ल्युसिज्म’ दुर्लभ रूप (पहेँलो) नेपालमा दोस्रोपटक अभिलेख हुन सक्छ”, उनले भने, “यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो ।”

त्यस्ता कछुवा विरलै देखिने भएकाले संरक्षणका दृष्टिकोणले विशेष महत्व रहेको उनको भनाइ छ । कछुवा जलथल सबडिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई जिम्मा लगाइएको वन समूहका सहसचिव भरत ढकालले बताए ।

सुब्बाले नै फरेस्ट एक्सन नेपालको अध्ययनका क्रममा जलथल वनमा यसलाई अभिलेख गरेका थिए । यद्यपि यो विरलै मात्रै भेटिने गर्छ ।