
बिर्तामोड, असार २ । झापासहित पूर्वी नेपालमा झन्डै दुई हप्ता हराएको मनसुन पुनः सक्रिय भएपछि शितल महसुस भइरहेको छ । धान रोप्ने तयारीमा रहेका कृषकलाई राहत मिलेको छ ।

झापाको आकाशमा आज बिहान बादल लागेको छ । चिसो हावा चलिरहेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशैभर धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।
यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागका अनुसार हाल कोशी प्रदेशबाट सुरू भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ ।
हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै, देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।