२०८२ असार ५ बिहीबार
Jhapa Today
Adv top

एसइइ नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी


बिर्तामोड, असार ४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

नियमित तालिकाअनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, चैत २० गतेदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो ।

परीक्षा नियन्त्रक डक्टर गणेशप्रसाद भट्टराईका अनुसार अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ ।

‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ । केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं’, उनले भने ।

एसइइ गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

Adv footer