२०८२ असार ५ बिहीबार
Jhapa Today
Adv top

किचकबध धार्मिक स्थलमा सेन्सर बत्ती जडान


भद्रपुर, असार ५ । झापाको भद्रपुरमा रहेको ऐतिहासिक किचकबध, धार्मिक तथा पर्यटकीय स्थलमा सेन्सर बत्ती जडान गरिएको छ । महाभारतकालीन किंवदन्तीसँग जोडिएको स्थानलाई झिलिमिली बनाइएको हो ।

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबधमा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सेन्सर बत्ती जडान गरेर झिलिमिली बनाइएको हो ।

पर्यटकले दिनको समयमा मात्र अवलोकन गर्दै आइरहेको किचकबधमा अब रातको समयमा अवलोकन गर्न सकिने नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । किचकबधको प्रवद्र्धन तथा संरक्षणका लागि नगरपालिकाले निरन्तर सहयोग तथा पहल गरिरहेको उनको भनाइ छ ।

नगरपालिकाको पाँच लाख रुपैयाँ बजेटमा किचकबध परिसरमा चार ठाउँमा सेन्सर बत्ती जडान गरिएको छ । दुईवटा पोलमा चारचारवटा बत्ती, अर्को दुईवटा पोलमा दुईदुईवटा बत्ती जडान गरिएको हो ।

बिजुली बत्ती जडान गरिएपछि बुधबार साँझ नगरप्रमुख पोखरेलसहितको टोलीले स्थलगत अवलोकन पनि गरेका थिए ।
ओझेलमा परेको किचकबधमा सूर्य अस्ताएपछि आफै बल्ने बिजुली बत्तीले थोरै भए पनि रौनक थपिएको स्थानीय बताउँछन् ।

किचकबध, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणका लागि संघीय सरकारले आर्थिक वर्ष २०८२÷०८३ मा तीन करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

विनियोजित रकमले किचकबधको मुहार फेरिनेमा आफू विश्वस्त रहेको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले जानकारी दिए ।

महाभारतकालीन किंवदन्तीअनुसार विराट राजाका सालो किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।

सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो । प्रत्येक माघे शुल्क पूर्णिमा र स्वस्थानी व्रतका दिन किचकबधमा मेला समेत लाग्दै आएको छ ।

Adv footer